विपिको राष्ट्रिय मेलमिलाप नीतिबारे: रबिन्द्र महतारा

   
त्रिवेणी अनलाइन
२ माघ २०७८, आईतवार १६:५९ मा
[Sassy_Social_Share total_shares="ON"]

जतिबेला भारतमा अंग्रेजहरुको शासन थियो त्यहि समयमा नेपालमा सामन्तवादमा आधारित राणाशासन थियो । वि.स. २०००३ साल असोज १८ गते विपिले पटनाबाट प्रकाशित हुने “द सर्च लाइट” नामक पत्रिकामा एक आह्वान जारी गर्दै भारतमा अंग्रेजहरुको शासन समाप्त हुँदै गईरहेकाले नेपालमा राणा शासनको अन्त्यको लागि पार्टी निर्माणको लागि संगठित हुन अपिल गरे । विपिको आह्वानपछि बनारस हिन्दु विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुले निर्माण गरेको नेपाली छात्र संघको प्रयासमा वि.स. २००६ कार्तिक १५ मा देविप्रसाद सापकोटा संयोजक रहेको अखिल भारतिय नेपाल राष्ट्रिय कांग्रेसको स्थापना गरिको थियो।

नेपालको जेलबाट भागेर भारत पुगेका गणेशमान सिंह र विपिको भेट भयो। पार्टी निर्माणका लागि वि.स. २००३ माघ १२ मा कलकता,भवानीपुरमा सम्मेलन भयो सोही सम्मेलनबाट पार्टीको नाम “नेपाल राष्ट्रिय कांग्रेस” राखियो, यहि सम्मेलनलाई पछि पहिलो महाधिवेशन र स्थापना दिवश मानिएको थियो। यहि सम्मेलनमा गणेशमान सिंह प्रजा परिषदको सदस्यको रुपमा सहभागी भए तर सम्मेलनबाट बाहिरिदा कांग्रेस भैसकेका थिए। नेपाल राष्ट्रिय कांग्रेसको पहिलो महाधिवेशनबाट गणेशमान सिंहको दबावमा नेपालको जेलमा रहेका टंकप्रकाश आचार्य सभापति बन्नुभयो र विपि कोइराला कार्यवाहक सभापति बन्नुभयो। उता सुवर्ण शमशेर र महावीर शमशेरको पहलमा २००४ साउन १ मा महेन्द्रबिक्रम शाह सभापति र सुर्यप्रसाद उपाध्यय महामन्त्री रहेको नेपाल प्रजातन्त्र कांग्रेस स्थापना भएको थियो जसको उदेश्य पनि शसस्त्र क्रान्तिद्वारा नेपालमा राणा शासन समाप्त पारेर बहुदलिय प्रजातान्त्रिक व्यवस्था स्थापना गर्नु थियो तर एउटै उदेश्य बोकेका दुई पार्टी आवश्यक नभएकोले विपिकै पहलमा नेपाल राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको एकताबाट २००६ चैत्र २७ मा “नेपाली कांग्रेस” बन्यो । जुन राष्ट्रिय मेलमिलापको बलियो बांधको रुपमा खडा भयो। यो एकताको चौथो अधिवेशनबाट सभापति मातृकाप्रसाद कोइराला र महामन्त्री महेन्द्रविक्रम शाह बने ।

२००७ कात्तिकमा राजगद्वी छाडेर भागेका तत्कालीन राजा त्रिभुवन प्रजातन्त्र स्थापनासँगै पुनर्स्थापित भए। त्यसपछि प्रजातन्त्रलाई संस्थागत गर्नुभन्दा कमजोर बनाउन राजा त्रिभुवन लागिपरे। जनक्रान्तिको बलमा पुनर्स्थापित राजाले कांग्रेस र जनताको बलिदानीलाई कुल्चन त सकेनन तर पूर्वप्रतिबद्वता अनुसार संविधानसभाबाट संविधान लेख्न विभिन्न बहानाबाजी गर्न थाले। संविधानसभाबाट जारी हुने संविधानले आफ्ना अधिकार थप कटौती हुने बुझेका राजाले त्यसलाई कमजोर बनाउन कांग्रेसभित्रै खेल्न थाले। संवैधानिक राजतन्त्रको मर्यादालाई उनले धानी राखे। तर, त्रिभुवनको २०११ चैत १ गते निधन भयो। युवराज महेन्द्र राजाको जिम्मेवारीमा आइपुगे। सत्तामा आएसँगै आफूलाई निरंकुश बनाउँदै लगेका महेन्द्रले जिल्लाको अवस्था बुझ्न भनेर प्रतिनिधि मण्डल गठन गरेर जिल्ला खटाएसँगै नेपालमा सक्रिय राजतन्त्र कसरत प्रारम्भ भयो । जनताको पीर मर्का बुझ्नका लागि प्रतिनिधिमण्डल जिल्ला पठाएको बताए पनि त्यसको मुख्य उद्वेश्य राजनीतिक दलको गतिविधि, तागत र जनतामा उनीहरूप्रतिको विश्वास बुझ्नु थियो।

पार्टीबारे सकेसम्म जनतामा नकारात्मक भावना फैलाउने र राजा सक्रिय भए मात्रै देश विकास हुन्छ, जनताले सुविधा पाउँछन भन्ने प्रचार गर्ने महेन्द्रको उदेश्य देखिन्छ। यसलाई राजाको पहिलो निरंकुश कदमका रुपमा विश्लेषण गर्दै विपिले विरोध गर्नुभयो। तर प्रजातन्त्र स्थापनाको चार वर्षमा जनताको जीवनमा देखिने परिवर्तन आउनुको साटो पार्टीभित्रको कलहले राजाको कदमलाई बल दिएको थियो। कांग्रेसको बिरोधबीच पनि राजा रोकिएनन। वि.स. २०१५ को आमनिर्वाचनबाट जननिर्वाचित सरकारका प्रधानमन्त्री विपि कोइरालालाई २०१७ पौष १ गते राजा महेन्द्रले अपदस्त गरेर बन्दी बनाएर बहुदलीय प्रजातान्त्रिक व्यवस्था विघटन गरी राजनीतिक दलमाथि प्रतिबन्ध लगाए। अनि प्रधानमन्त्री विपी कोइराला लगायतका नेतालाई झुटा मुद्वा लगाएर कारागार चलन गरे त्यसको ८ वर्षपछि विपि २०२५ कात्तिक १४ गते रिहाइ भएपछि प्रवास जानुभयो।

भारत बसाईको लगभग ८ वर्ष बित्दै जाँदा विपी दक्षिण एसियाली मुलुक अशान्त बन्दै गएको निष्कर्षमा पुग्नुभयो । उहाँको विचारमा, राजाले आफू सुदृढ रहेको महसुस गरेका थिए । विदेशमा पनि राजाको स्थिति बलियो मानिन्थ्यो । भारतमा इन्दिरा गान्धी एकदम बलियो मानिन्थिन । पाकिस्तानको राष्ट्रपतिमा जनताबाट निर्वाचित इतिहासमै सबभन्दा लोकप्रिय जुल्फीकर अली भुट्टो थिए । अफगानिस्तानमा राजा हटेपछि दाउद खाँनले राष्ट्रपति भएर शासन चलाइरहेका थिए । त्यहाँ पनि विदेशी शक्तिहरूले सहायताको खोलो बगाइरहेका थिए । श्रीलंकामा श्रीमती बण्डारानाईके थिइन जसले पछि चुनाव हारिन । पाकिस्तान र अफगानिस्तानको स्थिति पछि के भयो, स्पष्ट छ । यस क्षेत्रमा जो–जो शक्तिशाली देखिन्थे, एक–एक गर्दै या त चुनाव हारे या सत्ताबाट हटाइए या हत्या गरिए या फाँसीमा चढाइए । यहि शिलसिलामा दक्षिण एसियामा सन १९७१ (वि.स. २०२८) भारतको इशारामा पश्चिम पाकिस्तानबाट पुर्वी पाकिस्तान टुक्रीएर बंगलादेशको उदय भयो र लेण्डुप दोर्जेलाई गोठी बनाएर भारतले सिक्किमलाई भारतमा विलय बनायो । सन १९५० तिर तिब्बतमा चिनियाँ लालसेनाको प्रवेशपछि भारत र चीन दुवै आमने–सामने भए र परिस्थिति १९६२ को युद्वसम्म आइपुग्यो । तर त्योभन्दा जटिल स्थिति अमेरिका–सोभियत संघ द्वन्द्व र शीतयुद्वले जन्माएको अफगानिस्तानको थियो । यी परिघटनाले दक्षिण एसिया क्षेत्र प्रत्यक्ष प्रभावित हुँदै गर्दा यसको असर नेपालमा समेत पर्दै छ भन्ने विपीको विश्लेषण थियो । त्यसैले प्रजातान्त्रिक आन्दोलन र संघर्षहरूलाई एकाएक रोकेर ‘राष्ट्रिय मेलमिलापको नीति’ लिएर स्वदेश फर्कने विपी कोइरालाको निर्णय गरे यो निर्णयले धेरैलाई आश्चर्यमा पारेको थियो ।

विपीलाई स्वदेश फर्किन नदिन सुवर्णशमशेरसमेत प्रयत्नरत हुनुहुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो, नेता जेल गएपछि छुटाउन ठूलो मूल्य चुकाउनुपर्छ । त्यो गलत थिएन, किनभने सुवर्णशमशेरले वि.स. २०२५ कार्तिक १४ मा पनि मेलमिलापकै नीति झल्किने वक्तव्य जारी गरेपछि मात्रै विपी सहितका नेताहरू सुन्दरीजल जेलबाट छुट्नुभएको थियो । त्यसरी लामो समय निष्क्रिय रहनु पार्टीका लागि हितकर नहुने सुवर्णजीलाई पनि बोध भइरहेकै थियो । भारत छाड्नुअघि एक अन्तर्वार्तामा विपीले भन्नुभएको थियो- म एक नयाँ परिस्थितिमा, नयाँ परिस्थिति अनुरूप, नयाँ राजनीतिक दृष्टिकोण उत्पन्न गर्ने उदेश्यले स्वदेश फर्किंदै छु । ‘हामी हाम्रो सिद्धान्त, आदर्श र मूल्य–मान्यतामा सम्झौता गर्दैनौं, तर हाम्रो विचार अनुरूप लक्ष्यप्राप्तिको उपायका सम्बन्धमा विचार गर्नुपर्छ। विपीसँगै भारत निर्वासनमा रहेका गणेशमान सिंहले पनि अचम्मित हुँदै त्यस्तो कदम आत्महत्यासरह हुने बताउनुभयो । विपीका शुभेच्छुक भारतिय नेताहरू, विशेष गरी जयप्रकाश नारायण पनि निकै चिन्तित बन्नुभयो । देशभरिका कार्यकर्ता एवं शुभचिन्तकहरूसमेत गम्भीर चिन्तामा थिए ।

विपि स्वदेश फर्किनुअघि देशवासीका नाममा एक अपिल जारी गर्दै उहाँले भन्नुभयो , “प्रत्येक राष्ट्रको इतिहासमा यस्तो घडी पनि आउँछ, जब यसका बासिन्दाले आफ्नो ज्यानसमेत खतरामा हालेर यसको अस्तित्वको रक्षा गर्नुपर्छ । मलाई लाग्छ, आज नेपालमा त्यो घडी आएको छ।” यी सम्भावित घटनालाई मध्यनजर गर्दै विपीले नेपालको अदालतमा विपीलाई मृत्युदण्डसमेत हुनेखालका राजद्रोहका ७ वटा मुद्वा बेवास्ता गर्दै गणेशमान सिंहसहितलाई लिएर २०३३ पौष १६ गते राष्ट्रिय मेलमिलापको नीति लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुभयो, जहाँ उहाँको स्वागतार्थ उल्लेख्य कार्यकर्ता एवं शुभेच्छुकहरू पुगेका थिए, जहाँ सामन्ती पन्चायती व्यवस्थाका एजेण्टहरुले चरम अभद्र व्यवहार गरे । विपीलाई विमानस्थलबाट सोझै सुन्दरीजलको सैनिक जेल लगियो, जहाँ उहाँले २०१७ पौष १ को काण्डपछि ८ वर्ष बन्दी जीवन बिताइसक्नुभएको थियो । राष्ट्रिय मेलमिलापको नीतिप्रति अनेक अफवाह फैलाइए । कतिपयले ‘राजासमक्ष आत्मसमर्पण भने । पञ्चहरूको एउटा समूहले त विपीलाई फाँसी दिनुपर्छ भनी पञ्च भेलाबाट प्रस्ताव नै पारित गरेका थिए ।

उहाँको स्वदेश आगमन विरोधीहरूले प्रचार गरे जस्तो राजासँगको आत्मसमर्पण थिएन । विपिले राष्ट्रमा संकट नआओस भनेर राष्ट्रिय एकताका निम्ति उहाँको विवेकले ठहर गरेको निर्णय थियो। राष्ट्रको लागि विपिको जोखिमपुर्ण बलिदान र राष्ट्रिय एकता र मेलमिलापको निम्ति महान योगदान थियो । एकाधिकार पुजिवादले निम्त्याएका पहिलो र दोस्रो विश्वयुद्वको केन्द्र युरोप र पुर्वी एसिया थियो । आज अन्तर्राष्ट्रिय परिवेशमा फेरबदल आएको छ, संसारका शक्तिराष्ट्रहरुको अन्तरविरोधको केन्द्र, प्राकृतिक स्रोत-साधनको क्षेत्र,सामरिक र आर्थिक महत्वको क्षेत्र नेपाल भएको छ त्यसैले संसारको ध्यान नेपालमा केन्द्रित भएको छ । भुमण्डलिकृत पुजीवादको नवऔपनिवेशिक नीतिको कारण बहुराष्ट्रिय कम्पनिहरु नेपालमा लुटपाट मच्चाईरहेका छन। नेपालमा राजसस्थाको अन्त्य भएसंगै नेपालको सार्वभौमसत्ता र स्वाधीनताको रक्षा नेपाली जनता र नेपालका राजनितिक दलहरुको हातमा छ, त्यसैले विपिको राष्ट्रिय एकता र मेलमिलाप नितिको आवश्यकता, महत्व र सान्दर्भिकता आज झनै बढ्दै गएको पुष्टि हुन्छ।

तपाइँको प्रतिक्रिया

हाम्रो टीम


प्रबन्धक
उत्तर कुमार साहु
सम्पादक
गणेश चन्द

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9845578104, 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu