सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।

   
त्रिवेणी अनलाइन
२ जेष्ठ २०८२, बिहीबार १९:१२ मा

गत आर्थिक वर्ष २०८०/८१ मा सल्यानका १० वटै स्थानीय तहमा कूल १५ करोड २ लाख ८६ हजार रुपैयाँ बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औँ वार्षिक प्रतिवेदन अनुसार सल्यानका १० स्थानीय तहहरूमध्ये सर्वाधिक कम बेरुजु त्रिवेणी गाउँपालिकामा देखिएको छ । प्रतिवेदन अनुसार यो गाउँपालिकामा जम्मा ५२ लाख ४५ हजार रुपैयाँ मात्र बेरुजु देखिएको हो ।

प्रतिवेदनअनुसार शारदा नगरपालिकामा सबैभन्दा बढी बेरुजु देखिएको छ । नगरपालिकाले २०८०÷८१ मा विभिन्न योजनाहरूमा खर्च गरेको रकममध्ये ४ करोड २० लाख ८२ हजार रुपैयाँ लेखापरीक्षणमा बेरुजु देखिएको हो ।
त्यसपछि दोस्रो स्थानमा बागचौर नगरपालिका परेको छ, जहाँ २ करोड ७५ लाख रुपैयाँ बेरुजु देखिएको छ । यस्तै, बनगाड कुपिण्डे नगरपालिकामा ६३ लाख ५३ हजार, कपुरकोट गाउँपालिकामा १ करोड ६४ लाख ६६ हजार, कालिमाटी गाउँपालिकामा ७८ लाख १७ हजार, कुमाख गाउँपालिकामा १ करोड २७ लाख ९८ हजार, छत्रेश्वरी गाउँपालिकामा ७८ लाख ५० हजार, सिद्धकुमाख गाउँपालिकामा १ करोड ४२ लाख ६१ हजार र दार्मा गाउँपालिकामा ९९ लाख ५६ हजार रुपैयाँ बेरुजु देखिएको महालेखा परिक्षकको प्रतवेदनमा उल्लेख गरिएको छ ।
बेरुजु भन्नाले सरकारी रकम खर्च त गरिएको छ, तर त्यो खर्च कानुनअनुसार नभएको, लेखापरीक्षणको मान्यता नपुगेको वा स्पष्ट विवरण र प्रमाण नदेखिएको अवस्था हो । महालेखा परीक्षकको प्रतिवेदनमा देखिएको यो बेरुजु रकम सरकारलाई फिर्ता हुनुपर्ने, सच्याइनुपर्ने वा छानबिन हुनुपर्ने विषयको सूचक हो । हरेक वर्ष यस्तै बेरुजु देखिनु र समाधानको प्रयास कमजोर हुनु आफैंमा गम्भीर प्रश्नको विषय बनेको छ । स्थानीय तहहरूले योजनाको ठेक्का, बिल भर्पाई, खरिद प्रक्रिया लगायतका विषयमा ध्यान नदिँदा बारम्बार यस्ता समस्या देखिएको हो । सल्यानका स्थानीय तहहरूले आगामी वर्षहरूमा वित्तीय अनुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्ने प्रतिबद्धता जनाए पनि व्यावहारिक सुधारको अपेक्षा अझै अधुरै देखिएको छ ।
त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर केसी बिगतको तुलनामा यसबर्ष बेरुजु घटाउन सफल भएको बताउनु भयो । उहाँले आगामी दिनहरुमा बेरुजुदर शुन्यमा जार्ने गरि काम भैरहेको बताउनु भयो ।

शारदा नगरपालिका सल्यानका प्रमुख प्रशासकीय अधिकृत ओम प्रसाद देवकोटाले काम गरिएको तर केही प्रकियगत कागजी प्रक्रिया नपुगेका कारण महालेखा परिक्षकको कार्यालयले बेरुजु देखाएको बताउनु भयो । उहाँका अनुसार बेरुजु घटाउन प्रकियागत कागजी प्रकिया पुर्याउने पहल भैरहेको बताउनु भयो । नगरपालिकाले बेरुजु कम गर्नको लागि आन्तरिक लेखापरिक्षक कार्यबिधि निर्माण, सार्वजनिक लेखा समिती गठन लगायतको काम गरेको बताउनु भयो ।
बाचौर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर कठायतले सैद्धान्तिक बेरुजु भएकोले कागजी प्रकिया पुगेपछि बेरुजु नियमित घटदै जाने बताउनु भयो । आगामी बर्षहरुमा नगरपालिकाले बेरुजु घटाउनमा ध्यान दिने बताउनु भयो ।

 

तपाइँको प्रतिक्रिया
Array

हाम्रो टीम


प्रबन्धक/सम्पादक
उत्तर कुमार साहु
रिपोर्टर
गणेश चन्द
संगम बिहानी
समिक्षा के.सी.
कुमार साहु
फोटोग्राफर

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu