सचिन, डोनाल्ड, फिज प्याट्रिकलाई ‘हल अफ फेम’

   
त्रिवेणी अनलाइन
४ श्रावण २०७६, शनिबार ०४:२९ मा
[Sassy_Social_Share total_shares="ON"]

लन्डन : भारतीय क्रिकेट टोलीका पूर्वकप्तान सचिन तेन्दुल्कर र दक्षिण अफ्रिकी टोलीका तीव्र गतिका पूर्वबलर एलन डोनाल्डलाई प्रतिष्ठित ‘हल अफ फेम’ सूचीमा समावेश गरिएको छ। अस्ट्रेलियन महिला क्रिकेटर क्याथरिन फिजप्याट्रिक पनि उक्त सूचीमा परेकी छन्। फिजप्याट्रिक अस्ट्रेलियन महिला टोलीको तीव्र गतिकी पूर्वबलर हुन्।

तीनैजना क्रिकेटरलाई बिहीबार लन्डनमा आयोजित एक विशेष कार्यक्रमबीच ‘हल अफ फेम’मा समावेश गरिएको प्रमाणपत्र प्रदान गरियो। सचिन अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी हुन्। आईसीसीको नियममा कुनै पनि खेलाडीले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको कम्तीमा पाँच वर्ष पुगेपछि मात्र ‘हल अफ फेम’का लागि योग्य हुने प्रावधान छ।

सचिनले सन् २०१३ को नोभेम्बरमा सक्रिय खेलजीवनबाट सन्न्यास लिएका थिए। सचिन ‘हल अफ फेम’ सम्मान पाउने छैटौं भारतीय क्रिकेटर हुन्। यसअघि भारतका सुनिल गावस्कर, विसनसिंह बेदी, कपिल देव, अनिल कुम्बले र राहुल द्रबिडले यो उपलब्धि हात पारेका थिए। दुई सय टेस्ट खेल्ने एकमात्र खेलाडी सचिनले टेस्ट क्रिकेटमा कुल १५ हजार नौ सय २१ रन बनाएका छन्।

यसैगरी उनले एकदिवसीय क्रिकेटमा कुल १८ हजार चार सय २६ रन बनाएका छन्। उनी अन्तर्राष्ट्रिय क्रिकेटमा एक सयवटा शतक प्रहार गर्ने पनि विश्वकै एकमात्र खेलाडी हुन्। उनले टेस्टमा ५१ र एकदिवसीयमा ४९ वटा शतक बनाएका छन्। उनी भारतले सन् २०११ को विश्वकप जित्दा पनि टोलीको महत्त्वपूर्ण सदस्य थिए।

‘एउटा क्रिकेटरका लागि यो निकै ठूलो उपलब्धि हो। आज म निकै खुसी छु’, सचिनले भनेका छन्। डोनाल्डले भने सन् २००४ मा सबै ढाँचाको क्रिकेटबाट सन्न्यास लिएका थिए। उनी दक्षिण अफ्रिकाका महान् बलरहरूमध्ये एक हुन्। उनी दक्षिण अफ्रिकाका लागि तीन सय टेस्ट र दुई सय एकदिवसीय विकेट लिने पहिलो बलर पनि हुन्। ‘मलाई एउटा मेल आएको थियो। त्यसमा हल अफ फेमको विषयमा जानकारी गराइएको थियो। त्यो पढ्दा मेरो खुसीको सीमा नै रहेन’, डोनाल्डले भनेका छन्।

फिजप्याट्रिक भने ‘हाल अफ फेम’ सम्मान पाउने आठौं महिला क्रिकेटर हुन्। आफ्नो समयकी चर्चित बलर फिजप्याट्रिकले १६ वर्ष लामो खेलजीवनमा सर्वाधिक एक सय ८० विकेट लिएकी थिइन्। उनको त्यो कीर्तिमान सन् २०१७ मा तीव्र गतिकी भारतीय बलर जुलन गोस्वामीले तोडेकी थिइन्।

फिजप्याट्रिकले सन् १९९७ र सन् २००५ मा अस्ट्रेलियालाई महिला विश्वकपको उपाधि जिताउन महत्त्वपूर्ण योगदान गरेकी थिइन्। उनले सन् २०१२ देखि सन् २०१५ को मेसम्म अस्ट्रेलियन महिला क्रिकेट टोलीको प्रशिक्षकको भूमिका पनि निर्वाह गरेकी थिइन्। प्रशिक्षकको भूमिकामा उनले अस्ट्रेलियालाई एउटा महिला विश्वकप र दुईवटा टीट्वेन्टी विश्वकपको उपाधि जिताएकी थिइन्। ‘हल अफ फेम मेरा लागि निकै ठूलो सम्मान हो’, उनले भनेकी छन्।

तपाइँको प्रतिक्रिया

हाम्रो टीम


प्रबन्धक
उत्तर कुमार साहु
सम्पादक
गणेश चन्द

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9845578104, 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu