किरियापुत्री बसे छोरी
(सल्यान) — छोरा नै किरियापुत्री बस्नुपर्ने मान्यतालाई यहाँका दुई दिदी–बहिनीले तोडेका छन् । दिवंगत बुवाको किरियापुत्री बस्दै उनीहरूले समाजमा छोरीमाथिको भेदभावविरुद्ध सन्देश दिएका हुन् ।
शनिबार निधन भएका शारदा नगरपालिका–२ का व्यवसायी नरेश श्रेष्ठकी दुई छोरीले काजकिरिया गरिरहेका छन् । उद्योग वाणिज्य संघका सल्लाहकार श्रेष्ठको निधनपछि उनकी छोरीहरू २३ वर्षीया एलिसा र २० वर्षीया इशु किरियामा बसेका हुन् । ४८ वर्षीय अगुवा व्यवसायी श्रेष्ठको श्वासनलीमा खाना अड्किएर शनिबार निधन भएको थियो ।
श्रेष्ठको निधनपछि करिब १ सय महिला अन्तिम संस्कारका लागि घाटसम्म पुगेका थिए । आमासँगै दुई छोरीले धार्मिक विधिअनुसार किरिया गरिरहेका छन् । दुवैले घाटमै पुगेर बाबुलाइ दागबत्ती दिएका थिए । रुढीबादी र गलत संस्कार तोड्दै आफूहरूले बाबुको किरिया गरिरहेको एलिसाले बताइन् । ‘छोरीले बाबुको मलामी जानु हुँदैन र किरिया गर्नु हुँदैन भन्ने गलत मान्यता हो,’ उनले भनिन्, ‘उहाँका सन्तान बहिनी र म मात्र हौं, बुवाले हामीप्रति गरेको त्यागको सम्मान गर्दै किरिया बस्ने निर्णय गरेका हौं ।’ सुरुका केही दिन आफन्त र छिमेकीले असहज माने पनि अहिले प्रशंशा गरिरहेका उनले बताइन् ।
बुवाको किरिया गरेर आफूहरूले पितृसत्तात्मक समाजलाई चुनौती दिएको इशुले बताइन् । ‘बाबुआमाका लागि सन्तान सधैं बराबर हुन्छन्,’ उनले भनिन्, ‘बुवाले हामीलाई छोरासरह माया गरेर हुर्काउनु भयो, त्यसैले छोरासरहकै जिम्मेवारी पूरा गर्न किरिया सुरु गरेका हौं ।’ बाबुको किरिया गर्न पाउँदा गर्व लागेको उनको भनाइ छ । समाज परिवर्तनशील भएकाले धार्मिक परम्परालाई पनि परिस्कृत गर्दै लैजानुपर्ने उनले बताइन् ।
किरिया गरेर छोरीहरूले पुरुषसरह नारीले पनि कर्तव्य निर्वाह गर्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गरेको मृतककी पत्नी सुनिता श्रेष्ठले बताइन् । छोरीसँगै किरिया बस्दा आत्मसन्तुष्टी मिलेको उनी बताउँछिन् । ‘मनमा जति पीडा भए पनि छोरीहरूले सबै धार्मिक संस्कार विधिपूर्वक गरिरहेका छन्,’ उनले भनिन्, ‘छोरीहरूलाई नमूना र उदाहरणीय बनाउने उहाँको पनि सपना थियो, छोरीले पनि किरिया गर्ने आँट देखाएपछि शोकलाई शक्तिमा बदल्ने साहस मिलेको छ ।’
किरिया गरेर छोरीले साहसी काम गरेको स्थानीय ज्ञानकुमार श्रेष्ठले बताए । ‘सानैदेखि छोराले नै बाबुको किरिया गर्नुपर्छ भन्ने मान्यताबाट हुर्किएका हामीले सुरुमा उनीहरूको निर्णय पत्याउन सकेनौं,’ उनले भने, ‘बाबुको मृत्युपछि कठ्यांग्रिदो जाडोमा कठोर किरिया गरेर उनीहरू नमूना बनेका छन् ।’ उनले मृतकका घरमा सहानुभूति दिन जाने सबैले छोरीको प्रशंसा गर्ने गरेको सुनाए ।
धर्मग्रन्थमा किरिया छोराले नै गर्नुपर्छ भन्ने उल्लेख नभए पनि लामो समयदेखि चलिआएको स्थानीय पुरोहित छविप्रसाद उपाध्यायले बताए । ‘छोरा र छोरी जो भए पनि सन्तानले किरिया गर्दा मृतकको स्वर्गमा बास हुन्छ,’ उनले भने, ‘कतिपय संस्कार रुढीबादी र धर्मविरोधी छन्, ती संस्कार बिस्तारै सुधार्न आवश्यक छ ।’ खलंगा आसपासका क्षेत्रमा छोरीले बाबुलाई दागबत्ती दिएर किरिया गरेको यो पहिलो घटना भएको उनले बताए ।
छोरीले बाबुको किरिया गरे पनि रुढिबादी संस्कारअनुसार मृतकलाई भार नपर्ने उनको भनाइ छ ।बाबुको मृत्युपछि छोरीले काजकिरिया गरेर उदाहरणीय काम गरेको शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले बताए । ‘दुबैले गलत संस्कार तोड्ने साहस गरेका छन्,’ उनले भने, ‘मनमा पीडा भए पनि उनीहरूले साहस गरेर दागबत्ती दिए, आमालाई बेलाबेला सम्झाएको सुन्दा म निकै भावुक बनें ।’
Kantipur Bat
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम






