सीमा सुरक्षामा सरकारी प्रयासः लिपुलेकमा सशस्त्र प्रहरी राख्ने तयारी
भारत, चीन र नेपालबीचको त्रिदेशीय सीमा लिपुलेकसहित २० सीमा क्षेत्रमा यो वर्ष बोर्डर आउट पोस्ट (बिओपी) स्थापना हुने भएको छ । सीमा सुरक्षालाई थप बलियो बनाउन गृह मन्त्रालयले बिओपी थप्न लागेको छ ।
चीनसँगको सीमामा चार बिओपी स्थापना हुनेछन् । दार्चुलाको लिपुलेक, हुम्लाको हिल्सा, मुस्ताङको लोमान्थाङ र संखुवासभाको किमाथांकामा सशस्त्र प्रहरीले बिओपी स्थापना गर्नेछ । भौगोलिक रूपमा निकै कठिन भएकाले विस्तृत तयारी गरेर चार नाकामा बिओपी स्थापना गर्न लागिएको सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी सुरजकुमार श्रेष्ठले बताए ।
लिपुलेकमा बिओपी स्थापना गर्नुलाई महत्वपूर्ण मानिएको छ । दुई वर्षअघि भारत र चीनले नेपालको जानकारीविनै नेपालको भू–भाग पर्ने लिपुलेकमा ट्रान्जिट बनाउने सम्झौता गरेका थिए । सो क्षेत्रमा भारत र चीन दुवै देशले नेपालको सीमा मिचेको रिपोर्ट गृह मन्त्रालयमा आएको छ । चीनसँगका अन्य नाकामा पनि आपराधिक घटना बढेपछि प्रहरीको उपस्थिति बढाउन लागिएको हो । ‘यस वर्ष २० देखि २५ वटा बिओपी थप्ने हाम्रो योजना छ,’ उनले भने, ‘थप बिओपी भारतसँगको सीमा क्षेत्रमा स्थापना हुनेछन् ।’
गत आर्थिक वर्ष ०७५/७६ मा सशस्त्रले सीमामा २० बिओपी थपेर ८७ बाट एक सय सातवटा पुर्याएको छ । नेपाल र भारतीबीच एक हजार सात सय ५१ किलोमिटर लामो सीमा छ । जहाँ भारतको सशस्त्र सीमा बलको पाँच सय ११ बोर्डर पोस्ट छन् । भारतको तुलनामा सीमामा नेपालको उपस्थिति निकै कमजोर छ ।
गत साता गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सहसचिव नारायण शर्मा दुवाडीले हरेक आठ किलोमिटरको दूरीमा सशस्त्र प्रहरीको कार्यालय राख्ने गरी सीमा सुरक्षाको योजना अघि बढाइएको बताएका थिए । जसका लागि करिब दुई सय १८ बीओपी आवश्यक पर्छ । हाल १६ किलोमिटरको फरकमा बीओपी छन् । बीओपीका लागि छुट्टै दरबन्दी आवश्यकता नपर्ने भएकाले कार्यालय खडा गरी जिल्लाका गण तथा गुल्मबाट खटाउन थालिएको छ ।
- सल्यानको त्रिवेणीमा टि.भि. हेर्न आएकी पाँच वर्षिया बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ
- त्रिवेणी गाउपालिका वडा नं. ६ द्धारा विपन्न ६० जना बालबालिकालाई शैक्षिक साम्रगी वितरण
- सल्यानमा भतिजाको कुटपिटबाट काकाको मृत्यु
- सुर्तीजन्य पदार्थ तथा मध्यपान सेवन न्युनिकरण सम्बन्धी जनचेतनामुलक कार्यक्रम काभ्रामा सम्पन्न
- माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
- सल्यानमा सिकाई स्तर अनुसार शिक्षण विधि प्रभाकारिता बन्दै