नेपाल-मलेसिया श्रम समझदारी कार्यान्वयनमा सहमति, अब शून्य लागतमा जान पाइने
नेपाल र मलेसियाबीच भएको श्रम समझदारी पूर्णतया कार्यान्वयनमा लैजाने गरी बिहीबार सहमति भएको छ ।
यो सहमतिपछि नेपाली कामदारहरुले शून्य लागतमा मलेसिया जान पाउनेछन् । यस्तै कामदारको सामाजिक सुरक्षाको ग्यारेन्टी र आउँदाजाँदा लाग्ने टिकटको खर्च सबै रोजगारदाता कम्पनीले नै व्यहोर्नुपर्ने हुन्छ ।
मलेसिया जाँदा नेपालमा मेडिकल परिक्षण गरेको खर्च पनि त्यहाँ काम गर्न थालेको एक महिनाभित्रै कम्पनिले फिर्ता गर्नुपर्ने हुन्छ ।
मलेसियास्थित पुत्रांजयमा भइरहेको दुई देशका प्राविधिक टोलीको बैठकले अघिल्लो वर्षको कार्तिक ११ गते भएको दुई देशबीचको श्रम समझदारीमाथि सहमति जनाएको हो ।
भदौ २४ र २५ दुई दिन हुने भनिएको बैठक हिजो टुङ्गो नलागेरै सकिएको थियो । आज फेरि चलेको बैठकले अन्त्यमा उक्त समझदारी कार्यान्वयन गर्ने गरी सहमति जनाएको हो ।
मंगलबारदेखि सुरु भएको बैठकमा नेपालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेको नेतृत्वको टोली र मलेसियाका उच्च अधिकारी सहभागी हुनुहुन्थ्यो ।
यो बैठकले मलेसिया रोजगारीका सम्बन्धमा देखिएको अन्योल अन्त्य गर्ने श्रममन्त्री गोकर्ण विष्टले यसअघि नै बताइसक्नुभएको थियो । दुई देशबीच भएको श्रम समझदारी लामो समय भइसक्दा पनि केही प्राविधिक विषय टुङ्गो नलाग्दा मलेसियाको रोजगारी खुल्न सकेको थिएन । अब त्यही सहमतिअनुसार नेपाली कामदारहरु मलेसिया जान पाउने भएका छन् ।
मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणका लागि १ सय २२ वटा स्वास्थ्य संस्था सूचीकृत भइसकेका छन् । मलेसिया जाने नेपाली श्रमिकमाथि स्वास्थ्य परीक्षणका नाममा हुँदै आएको आर्थिक शोषण अन्त्य गर्न २०७५ जेठ २ गतेदेखि मलेसियाको रोजगारी बन्द भएको थियो ।
मलेसिया रोजगारीका नाममा ठगी गर्ने बायोमेट्रिक, भीएलएन, माइग्राम, आईएससी, ओएससीजस्ता संस्थालाई कारबाही गरेपछि मलेसियाको रोजगारी बन्द भएको हो । कलिङ भिसा आएका व्यक्तिका लागि भने श्रम स्वीकृति खुला भैसकेको छ ।
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह