विपिको समाजवाद र अबको बाटो : रबिन्द्र महतारा
१. मानव जातिको सम्पुर्ण इतिहास वर्गसंघर्षको इतिहास हो ! पृथ्वीमा डायनोसरको अन्त्य र मानवजातिको उत्पत्तिदेखि अहिलेसम्म यस धर्तिमा विभिन्न प्राणीहरुको अन्त्य र उत्पत्तिको शृङ्खला बाट यहाँ सम्म आईपुगेको छ ! प्रकृतिमा सवै प्राणी अस्तित्वमा रहनलाई संघर्ष र सापेक्षिप संघर्ष आवश्यक पर्छ अनि यहि प्रकृतिको काखमा अर्को प्राणीको रुपमा मानवजाति रहेको छ। मानवजाति र अन्य प्राणीमा एउटा भिन्नता रहेको छ त्यो हो वर्ग ! मानवजातिमा वर्ग हुन्छ तर मानव बाहेक अन्य सबै प्राणीमा वर्ग हुदैन। त्यसैले मानवसमाज वर्गीय समाज हुन्छ भने यस पृथ्वीमा रहेका मानिस बाहेक अन्य सबै प्राणीहरुमा वर्गीय समाज हुदैन। पृथ्वीमा मानवजातिको उत्पत्ति संगै ढुङगे युग,दास युग,सामन्ती युग हुँदै अहिलेको सामाजिक प्रणाली पुजिवादी युगसम्म आउन करोडौं वर्ष लागेको छ ! यस संघर्षको लामो इतिहासमा आदिमानव(Ape) बाट अहिलेको आधुनिक मानव बन्न ४ हात-खुट्टाले हिड्ने प्रक्रियाबाट २ खुट्टाले हिड्ने र २ हातलाई उत्पादनका औजारको रुपमा प्रयोग गरेर श्रममा आधारित सस्कृतिको निर्माण संगै विभिन्न सामाजिक व्यवस्थाहरुको निर्माण भयो । समाज एउटा व्यवस्थाबाट अर्को व्यवस्थामा जान्छ र निम्न स्तरको सामाजिक व्यवस्थालाई उच्च स्तरको सामाजिक व्यवस्थाले विस्थापन गर्छ अनि पुरानो खालको अन्तरबिरोधलाई नयाँ खालको अन्तरविरोधले हल गर्छ यहि सृष्टि,स्थिती र प्रलय नै प्रकृतिको नियम(Law of Nature) हो जसलाई आदर्शवादीहरुले इश्वरको मनोकांक्षा भनेर व्याख्या गर्ने गर्छन।
२. परापुर्वकालदेखि नै मानवजाति द्वारा निर्मित विभिन्न सामाजिक व्यवस्थाहरु निर्माण भए, ढुङगे युग, दास युग,सामन्ति युग जस्ता सामाजिक व्यवस्था पार गरेर मानवजाती पुजिवादी युगमा छ ! इतिहासको भौतिकवादी धारणाअनुसार सामाजिक व्यवस्थालाई ५ वटा चरणमा बाड्न सकिन्छ ! ढुङगे युग, दास युग, सामन्ती युग, पुजीवादी युग, समाजवादी युग ! हिन्दु बर्णानुश्रमले पनि सामाजिक व्यवस्थालाई सत्य,त्रेता,द्वापार र कलिगुगमा बाडेको छ, कलियुग अन्त्य भएर अर्को सुन्दर सामाजिक व्यवस्था स्थापना हुन्छ भनेको छ,त्यसैले कलियुगभन्दा उच्च स्तरको सामाजिक व्यवस्थाको खोजि गर्नु हिन्दु धर्मावलम्बीहरुको ऐतिहासिक कार्यभार हो भने अबको पुजीवादको विकल्प पुजिवाद भन्दा उच्च स्तरको सामाजिक व्यवस्था खोजी गर्नु अहिलेको विश्वभरीका ७ अरब मानवजातिको ऐतिहासिक जिम्मेवारी हो। ३. नेपाली सामाजिक व्यवस्थाको राजनीतिक मोडेललाई हामिले गोपाल वंशदेखी आजको परिवेशसम्म हेर्ने हो भने पनि निम्न स्तरको सामाजिक/राजनीतिक मोडेललाई उच्च स्तरको सामाजिक/राजनीतिक मोडेलले विस्थापित गरेको छ! गोपाल वंश भन्दा पहिलेको समाज जंगली युगमा थियो,जंगली युगमा प्रकृतिमा आधारित उत्पादन सम्बन्ध थियो, जंगलमा हुँदा खाद्यान्नको लागि प्राय: दुइटा काम गर्थे, शिकार गर्ने र कन्दमुल खोज्ने । शिकार गर्नेहरु पशुपालन गर्न थाले अनि कन्दमुल खोज्नेहरु खेतिपाती गर्न थाले ! यसरी मानविय चेतना बढ्दै गएपछि गोत्र समूह वा रक्त समुहमा आधारित गोपाल वंश र महिषपाल वंश जस्ता राज्यको स्थापना भयो त्यसपछी जातिय राज्यहरुको स्थापना भएसंगै अंशुवर्माको शासनकाल सुरु भयो। त्यसपछी विभिन्न क्षेत्रीय र भौगोलिक राज्यहरु स्थापना भए संगै उपत्यकामा मल्ल राज्यहरु थिए भने गोरखामा शाहवंशीय राज्यहरु स्थापना भए ! गोरखाका राजा पृथ्वीनारायण शाहले विभिन्न क्षेत्रीय राज्यहरुलाई एकीकरण गरेपछी बहुजातिय राज्यको निर्माण भयो। पृथ्वीनारायण शाहदेखि कोतपर्व अघिसम्म नेपाली समाज शाहवंशीय राजतन्त्रात्मक समाजको रुपमा रह्यो ! कोतपर्वपछि वि.स.२००७ सालसम्म सामन्तवादमा आधारित छोटे राजाहरुले नेपाली समाजको राजनीतिक प्रणालीको नेतृत्व गरेपछी नेपाली समाजलाई राणा समाज भन्न सकिन्छ । वि.स. २००७ सालको जनआन्दोलनबाट राणाहरुको राजनितिक नेतृत्व समाप्त भएपछि वि.स. २०१७ साल मंसिर ३० गतेसम्म वहुदलिय व्यवस्थामा आधारित समाजको निर्माण भयो! वि.स. २००७ साल पौष १ देखि वि.स. २०४६ सालसम्म सामन्तवादमै आधारित पन्चायती व्यवस्थाको समाज निर्माण भयो ! वि.स. २०४६ सालदेखि वि.स. २०६३ सम्म संवैधानिक राजतन्त्रात्मक समाजको निर्माण भयो ! वि.स. २०६३ देखि हालसम्म हामीले संघीय गणतन्त्रात्मक समाजमा छौं !
४. यसरी हरेक एक प्रकारको सामाजिक व्यवस्थाको विघटन भएर अर्को प्रकारको सामाजिक व्यवस्थाको निर्माण हुने प्रक्रिया परापुर्वकालदेखी अहिलेसम्म निरन्तर चलिरहेको छ ! त्यसैले हरेक सामाजिक व्यवस्थामा परिवर्तन हुनुको मुल कारण दर्शन,विचारमा मात्र परिवर्तन भएर हुदैन,समाजको परिवर्तन अर्थतन्त्रमा परिवर्तन भएर हुन्छ ! जब कुनैपनि समाजको आर्थिक प्रणाली बदलिन्छ त्यो समाजको विघटन भएर नयाँ समाजको माग गर्दछ! हरेक समाजव्यवस्था ३ वटा तत्वहरु मिलेर बनेको हुन्छ -राजनिती,अर्थतन्त्र र सस्कृती त्यसैले समाजव्यवस्था बदलिनको लागि समाजव्यवस्थाका पनि ३ वटै तत्व बदलिनुपर्छ तर हामीले वि.स. २००७ देखि आजसम्मको नेपालमा जुन सामाजिक व्यवस्था छ त्यसको श्रेय मुलत: नेपाली राजनितिमा महामानवको उपमा पाएका विपि कोइराला र उनले स्थापना गरेको राजनितिक दल नेपाली कांग्रेसलाई नै जान्छ ! जसले सामन्तवादमा आधारित राणाशाहीद्वारा लुटिएको समाजव्यवस्थालाई अन्त्य गर्नको लागि मुक्ति सेनाको गठन गरेर शसस्त्र विद्रोहजस्तो कठिन संघर्षको जोखिम उठाए हामिले २००७ सालबाट नेपालको सामाजिक परिवेशलाई हेर्ने हो भने समाजव्यवस्थाका ३ वटै तत्व बदलिएका छैनन! वि.स.२००७ सालको आन्दोलनले सामन्तवादी व्यवस्थामा आधारित जहानिया राणा शासनको अन्त्य भएर प्रजातन्त्र स्थापना भयो भनिए पनि २००७ सालको आन्दोलनको उदेश्य प्रजातन्त्र स्थापना गर्नु मात्र थिएन र होइन पनि ! वि.स. २००७ सालको आन्दोलनको उदेश्य प्रजातन्त्र प्राप्ति गर्नु मात्र थियो भन्नुको अर्थ राणा शासनबाट स्वतन्त्रता/ छुटकारा पाउनु भन्ने मात्र अर्थ हुन्छ। तर २००७ सालमा बिपि कोइरालाले गरेको संघर्ष/आन्दोलन प्रजातन्त्र प्राप्ति भनिएपनी नेपालको समग्र सामाजिक व्यवस्था बदल्नु थियो, समाजव्यवस्थाका ३ वटा विषयवस्तु बदल्नु थियो ! नेपालको राजनितिक प्रणाली बदल्नु थियो, नेपालको आर्थिक प्रणाली बदल्नु थियो, नेपाली समकालीन समाजको सस्कृती बदल्नु थियो।
५. राजनितिक रुपले सामन्तवादको अन्त्य गरेर नेपालमा पुजीवादी क्रान्ति द्वारा राष्ट्रिय उत्पादक पुजिवादको विकाश गरेर समाजवादको आधार तयार गर्नु थियो, आर्थिक रुपले नेपालको सामन्ति उत्पादन सम्बन्धको अन्त्य गरेर पुजीवादी उत्पादन सम्बन्धको स्थापना गरेर नेपालमा आत्मनिर्भर अर्थतन्त्रको विकाश गर्नु थियो । सास्कृतिक रुपले नेपालको पश्चगामी सामन्ति सस्कृतिको अन्त्य गरेर पुजीवादी प्रगतिशील सस्कृतिको विकाश गर्नु थियो। तर बिडम्बना २००७ सालको सशस्त्र विद्रोहले सामन्तवादलाई मुल रुपले उच्छेद नगरेर सामन्तवादका नोकरशाह संग जुन प्रकारको “त्रिपक्षीय दिल्ली सम्झौता” नामक गढजोड गर्नुपर्ने परिस्थितिको निर्माण भयो। जसको फलस्वरुप मोहनशमशेरको नेतृत्वमा मिलिजुली सरकार गठन भयो यसबाट के प्रष्ट हुन्छ भने २००७ सालको आन्दोलनले नेपालको शासकिय प्रणालीमा परिवर्तन त आयो तर सामन्तवादको अन्त्य र पुजिवादी क्रान्ति भएन। यसरी नेपालको राजनितिमा शासकिय परिवर्तन आयो तर राष्ट्रिय उत्पादक पुजीवादी क्रान्तिद्वारा पुजिवादको स्थापना भएन जसले गर्दा सामन्तवादमा आधारित उत्पादन सम्बन्धका अवशेषहरु अहिलेसम्म रहिरहेका छन! जसको कारण नेपालको आर्थिक उन्नतिका आधारहरु निर्माण हुन सकेनन! अनि २००७ सालमा जिवित रहेको सामन्तवाद २०१७ पौष १ गते पन्चायती व्यवस्था बनेर जननिर्वाचित सरकारका र सो सरकारका प्रधानमन्त्री विपि कोइरालालाई अपदस्त गरेपछि सामन्तवादको दोस्रो श्रीङखलाले ३० वर्ष सम्म २००७ सालमा प्राप्त गरेका उपलब्धिहरु खेर गए ।
६. विपिले वि.स. २०१२ सालमा “प्रजातान्त्रिक समाजवाद” नै आफ्नो पार्टीको नीति तथा कार्यक्रम भएको व्याख्या गरे! – सबै नेपालीको एउटा सानो घर होस। गरी खान पुग्ने खेतबारी होस । एउटा दुहुनो गाई होस। छोराछोरी स्कुल पढ्न पाऊन । स्वास्थ्य उपचार गर्न पाउन। यही हो नेपालको सन्दर्भमा “प्रजातान्त्रिक समाजवाद ” भनेर । बिपीले समकालीन नेपाली समाजमा समाजवादको विचार मात्र दिएनन, बिपिले आफ्ना नीति तथा कार्यक्रमलाई सहि ढङले समाजमा, प्रशासनमा, अर्थतन्त्रमा र परराष्ट्र नीतिमा कसरी लागू गर्ने भनेर मार्गचित्र तयार गर्दै जुझारु पार्टी संगठन बनाए । उनले प्रजातान्त्रिक समाजवाद भनेर समकालिन समयमा समाजवादको उदघोष त गरे तर समाजवादका उपलब्धिहरु हासिल हुन सकेनन तर पनि प्रजातन्त्रको मामिलामा कोहीसँग सम्झौता गरेनन जसको कारण विपीले जेल जीवनमात्र होइन नेपाल छोडेर निर्वासित जीवन समेत बिताउनुपर्यो । तर बिडम्बना भौतिक रुपले बिपि हाम्रो माझ नरहेपनि प्रजातन्त्र प्राप्तिको लागि बिपिको संघर्ष र योगदान अबिस्मरणीय छ अनि बिपिले २०१२ सालमा अघि सारेको समाजवादको रुपरेखा आज पनि उत्तिकै सान्दर्भिक छ, यहि नै हाम्रो लागि अबको समाजवादको आधार बन्न सक्छ ! तर अफसोच विपिले निर्माण गरेको पार्टी अहिलेपनि छ तर विपीको ‘समाजवाद’ को सपना कहाँनेर छ ?? सामन्तवादलाई पुर्ण निशेध गर्न नसकेकै कारण नेपालमा पुजीवादी क्रान्ति हुन सकेन जसको फलस्वरूप उत्पादक प्रगतिशील पुजिवादको निर्माण हुन सकेन त्यसैले पुजीवादी क्रान्तिको सफलताबिना नेपाली समाज पुजीवादी समाजमा बदलियो जसले गर्दा अनुत्पादक व्यापारिक पुजीवाद वा दलाल पुजिवाद मौलाउन पुग्यो त्यसैले पुजीवादी क्रान्ति बिना निर्माण भएको पुजीवादी समाजको एकमात्र हल भनेको समाजवाद नै हो।
७. समाजवाद पुजिवादको गर्भबाट जन्मिएर पुजिवादलाई नै निशेध गरेर विकशित हुने एक उन्नत सामाजिक व्यवस्था हो। त्यसैले जसरी पुजिवाद सामन्तवादको गर्भबाट जन्म हुन्छ तर पुजिवाद सामन्तवाद भन्दा एक प्रगतिशील सामाजिक व्यवस्था हो तर पुजिवाद नै अन्तिम र पुर्ण विकल्प हो,पुजिवादमा सबैको भलो हुन्छ भन्नू गलत हो!पुजिवादको विकल्प समाजवाद हो किनभने समाजवाद नै पुजिवाद भन्दा उन्नत सामाजिक विकल्प हो! हामी संसारका ७ अरब मानिस अहिले जुन विश्व व्यवस्थामा छौ त्यो हो विश्व पुजिवाद, पुजिवाद पनि विभिन्न रुप बदल्दै अहिले पुजिवादको चौथो चरणको रुपमा भुमण्डलिकृत पुजिवादमा छ ! त्यसैले यो संसारको प्रधान अन्तर्विरोध भनेकै भुमण्डलिकृत पुजिवाद र श्रमिक जनता विचको अन्तरविरोध हो भने संसारको आधारभुत अन्तरविरोध भनेको श्रम र पुजि विचको अन्तरविरोध हो! अनि श्रमिक नेपाली जनता र अनुत्पादक व्यापारिक दलाल पुजिवाद विचको अन्तरविरोध नै नेपालको प्रधान अन्तरविरोध हो,नेपाली समाजको मुख्य समस्या नै यहि हो ! बिपि कोइराला द्वारा निर्मित नेपालको सामाजिक/राजनितिक इतिहासमा अग्रणी भुमिका खेलेको नेपाली कांग्रेस पार्टी आजको नेपाली समाजको राजनितिक,सामाजिक,आर्थिक,सास्कृतिक समस्याको हल गर्न फेरि पनि पहलकदमी लिन सक्नुपर्छ त्यसको लागि नेपाली कांग्रेसले विपिको समाजवादलाई साकार पार्न नेपालको पुजीवादी समाजवादलाई बदल्न समाजवादी क्रान्तिमा लाग्नुपर्छ।
८. समाजवादको नारा कांग्रेसले प्रतिपक्षमा रहँदा सम्म लगाउँछ तर सरकारमा गएपछि बिर्सिन्छ । समाजवादका बारेमा कांग्रेस पार्टी, यिनका नेता, कार्यकर्ताले घण्टौ वकालत गर्छन। नेताहरु उत्तिकै चर्को स्वरमा मञ्चमा भाषण गर्छन कार्यकर्ताहरुलाई प्रशिक्षित गर्छन तर पार्टीनै अहिले कुन बाटो र कुन अवस्थामा छ ? के अहिले बसिरहेको स्थान, हिडिरहेको बाटोबाटै समाजवादको गन्तव्यमा पुग्न सम्भव छ ? नेपाली कांग्रेसको समाजवादवारे भावी रणनिती र तत्कालिक कार्यनिती के हो यो सोचनिय बिषय छ । अबको १४ औ महाधिवेशनबाट नेतृत्व छनोट मात्र हैन समाजवादवारे प्रष्ट नीति तथा योजना तय गर्नुपर्छ,नेता- कार्यकर्ताहरुले कसरी त्यो आधार तयार गर्ने ? त्यसका लागि नेताहरुको एकता, आदर्श, रणनीति के छ ? नेविसंघ,तरुण दलमा आबद्व नेता -कार्यकर्ताहरुले पार्टीभित्र समाजवादको बहस लाई छलफल लगेर समाजवादको नेतृत्व गर्नुपर्छ! अनि पार्टीका नेता अनि भातृ -संगठनमा आबद्व नेता कार्यकर्ता समेतको जीवन, व्यवहार समाजवादमा रुपान्तारित गर्न कस्तो हुन जरुरी छ ? यस्ता जरुरी सवालमा आजकाल समिक्षा, छलफल र बहस निकै कम भएको देखिन्छ।नेता-कार्यकर्तामा समाजवादको यात्रामा जान समाजवादी संस्कृति जीवन-व्यवहारमा लागू भएको छ कि पुजीवादी सस्कृती ? आज पनि कार्यकर्ताहरु नेता र आफ्नै पार्टीका शिर्ष नेताहरुका गलत प्रवृत्तिबारे बोल्न पनि हिच्किचाउने प्रवृत्ति छ कि प्रजातन्त्रको प्रयोग गलत प्रवृतिहरुमा लागू हुन्छ?समाजवादको रणनिती बनाएर संसद र शिखर पुगेकाहरु पार्टीका नेताहरु नेपाली समाजको लागि सोच्छन कि अवसर पाए पछि आफ्नै परिवार, आफन्त, गुट बाहेक अरु नदेख्ने र नसुन्ने अवस्थामा छन ? इतिहासमा सामन्तवादको अन्त्यको लागि राजा,राणा र पन्चायत संग लड्नको आगि ३ पटक सम्म शसस्त्र विद्रोहजस्तो जोखिम उठाएको बिपि द्वारा निर्मित नेपाली कांग्रेस पार्टी अनि राष्ट्रियता,लोकतन्त्र र समाजवादलाई आफ्नो आदर्श बनाएका बिपीका अनुयायीहरुले समाजवाद प्राप्तिको लागि नेपाली समाजको अनुत्पादक व्यापारिक पुजिवादको बिरुद्वमा फेरि एकपटक समाजवादी क्रान्तिको थालनी गर्नुपर्ने ऐतिहासिक जिम्मेवारी आएको छ,यहि नै महामानव बिपि कोइरालाका सच्चा अनुयायीहरुको अग्निपरीक्षा हो, यहि नै असली रुपमा बिपिप्रति श्रद्वा र सम्मान हो, यहि नै बिपीको विचार र अबको बाटो हो ।
- सल्यानको त्रिवेणीमा बजार अनुगमन : २ लाख बराबरको अखाद्य बस्तु नस्ट
- नेपाल निजामति कर्मचारी युनियन त्रिवेणीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
- सल्यानको त्रिवेणीमा टि.भि. हेर्न आएकी पाँच वर्षिया बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ
- त्रिवेणी गाउपालिका वडा नं. ६ द्धारा विपन्न ६० जना बालबालिकालाई शैक्षिक साम्रगी वितरण
- सल्यानमा भतिजाको कुटपिटबाट काकाको मृत्यु
- सुर्तीजन्य पदार्थ तथा मध्यपान सेवन न्युनिकरण सम्बन्धी जनचेतनामुलक कार्यक्रम काभ्रामा सम्पन्न