मालपोत कार्यालय सल्यानमा इन्टरनेट सर्भर नचल्दा ३ दिनदेखि सेवाग्राही पालो कुर्दै
कार्तिक १९, सल्यान । मालपोत कार्यालय सल्यानमा इन्टरनेट सर्भर नचल्दा सेवाग्राही ३ दिनदेखि पालो कुरिरहेका छन् ।
सरकारले प्रत्येक मालपोत कार्यालयहरुलाई अनलाइन मैत्री बनाउने भनेसँगै सल्यानको मालपोत कार्यालयमा गएको साउन १६ गतेदेखि अनलाइन सेवा सुभारम्भ गरिएको थियो । तर अनलाइन सेवा सुभारम्भ भएयता बेलाबेला इन्टरनेट सर्भरले काम नगरेर सेवाग्राहीले सास्ती भोग्दै आएका छन् ।
आज मंगलबार भने मालपोत कार्यालय सल्यानमा ठुलै भिड लाग्यो । तिहार सकिएसँगै घर, घडेरी र जग्गाका काम गर्न आतुर भएका सेवाग्राही कार्तिक १७ गते आइतबारदेखि नै कार्यालयमा आए । तर सोहिदिन काम सकेर फर्किनेगरी आएका उनिहरु काम नहुँदा मंगलबारसम्म पनि पालो कुरिरहेका छन् ।
कपुरकोट गाउँपालिकाको गाँडापानीबाट आएकी पवित्रा बुढाथोकीले आफु जग्गा पास गर्न आएको तर काम नहुँदा कुरिरहेको बताइन् । उनले भनिन्, ‘कर्मचारीले नेटले काम गरेन भन्छन्, हामी ३ दिनदेखि कुरिरहेका छौं, हामीलाई ढिला भयो, काम सकेर जाने हो ।’
दार्मा गाउँपालिका १ बाट आएका अर्जुन विकको समस्या पनि उस्तै छ । जग्गा नामसारी गर्न सोमबार बिहानै आएका उनि मंगलबारसम्म पनि काम नहुँदा पालो कुरिरहेका छन् । उनि भन्छन्, ‘टाढाबाट आएका हौं, हिजै काम सकेर फर्किने पलान थियो । तर नसकिदा आज पनि बस्नुपर्ने भयो ।’
बागचौर नगरपालिका २ का कमल केसीले नेट चलेन भनेर कर्मचारी बाहिर आएर बस्ने गरेको र आफुहरु कुरिरहनु परेको बताए । उनले भने, ‘कि त राम्रो इन्टरनेट सर्भर हुनुपर्याे नत्र त पहिलेकै हातले लेख्ने सिस्टम ठिक थियो ।’
यता मालपोत कार्यालय सल्यानका अधिकृत महादेव कसाँइले सरकारले काठमाडौंबाटै दिएको सर्भरले काम नगरेको बताए । सर्भरले कतिबेला काम गर्ने र कतिबेला नगर्ने बताए । उनले भने, ‘यो सर्भरमा हाम्रो केहि लाग्दैन तर पनि माथि कुरा गरेका छौं । अबदेखि नियमित सर्भरले काम गर्ने आशामा छौं ।’ उनले मंगलबार दिउँसाे २ बजेबाट सर्भरले काम सुरु गरेकाे जानकारी दिए ।
कार्यालयका कम्प्यूटर अपरेटर नरबहादुर कँवरले सिंहदरबारबाटै केन्द्रीय डाटा जेआइडिसी आएको र त्यो सिंहदरबार सेन्टरबाट काम नगर्दा यहाँको पब्लिक सर्भरले काम नगर्ने बताए । उनले कहिलेकहीँ आफुहरुले आधा जति काम गर्दा सर्भर कटेपछि कम्प्यूटरमा गरेको उक्त डाटा उडेर फेरिबाट गर्नुपरेको बताए ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।







