दार्माबाट स्थायी बनेका ७१ कर्मचारी गाउँपालिकाद्वारा अभिनन्दित
असोज ३० सल्यान । दार्मा गाउँपालिका सल्यानले नेपाल सरकारको स्थायी सेवामा सिफारिस भएका ७१ जना कर्मचारीहरुलाई अभिनन्दन गरेको छ । २०७५ वैशाखदेखि हालसम्म निजामती, शिक्षा, स्वास्थ्य, सुरक्षातर्फ स्थायी रुपमा सिफारिस भएका ६ वटै वडाका नागरिकलाई बिहीबार अभिनन्दन गरिएको थियो ।कार्यक्रममा वडा नं. १ बाट १० जना, २ बाट १८ जना, ३ बाट १६ जना, ४ बाट ७ जना, ५ बाट ११ जना र वडा नं. ६ बाट ९ जना गरी जम्मा ७१ जनालाई प्रशंसापत्र, फूलमाला र अबिर लगाई अभिनन्दन गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य टेकबहादुर बस्नेतले हरेक नागरिकले आफूले गरेको साधनाको प्रतिफल पाउने धारणा राखे । नागरिकको साधनाको सम्मानस्वरुप गाउँपालिकाले कार्यक्रम गरेकोमा खुसी व्यक्त गर्दै प्रमुख अतिथि बस्नेतले यसले कर्मचारीहरुलाई प्रोत्साहन गर्नुका साथै एकता, सद्भाव एवं मित्रता ल्याउने बताए ।
सबैथोक पैसा नै हो भन्ने धारणा गलत भएको बताउँदै उहाँले सबैभन्दा ठूलो उपलब्धि परिश्रम र मेहनतबाट प्राप्त हुने बताउनुभयो । राज्यको व्यवस्था फेरिन सक्छ तर सच्चाइ, श्रम, मेहनत कहिल्यै नफेरिने भन्दै उहाँले हरेक व्यक्ति इमान्दार हुनुपर्ने विचार व्यक्त गरे ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष निमबहादुर केसीले ठुलो मेहनतका साथ सरकारी सेवामा प्रवेश गरेकाहरुलाई गाउँपालिकाले अभिनन्दनको कार्यक्रम गरेको बताए । कार्यक्रम परम्परागत नभई बौद्धिक क्षेत्रबाट हुने योगदानको सम्मान भएको उहाँको धारणा थियो । कार्यक्रमले नागरिकहरुमा सामीप्यताको अवसर समेत ल्याएको अध्यक्ष केसीले बताए ।
कार्यक्रममा दार्मा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपक कवँर, अभिनन्दन हुनेको तर्फबाट शिक्षक निमबहादुर केसी र पार्वती नेपालीले मन्तव्य राखेका थिए ।
गाउँपालिका उपाध्यक्ष टीका शर्मा ओलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षा शाखा प्रमुख रोमप्रसाद पाण्डेयले गरेका थिए ।
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह