सुर्खेत-हिल्सा सडक, चीनबाट अनुदान लिएर बनाउने कर्णालीको तयारी

   
त्रिवेणी अनलाइन
१ कार्तिक २०७६, शुक्रबार ०६:१२ मा

सुर्खेत – कर्णाली प्रदेश सरकारले सुर्खेत-हिल्सा सडक कर्णालीको समृद्धिको आधारको रूपमा लिएको बताएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले मंगलवार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो दाबी गरेका हुन ।

‘कम्तीमा महत्वपूर्ण सडक निर्माण आवश्यक छ भन्ने कुरा चिनियाँ राष्ट्रपति आफैंले बोल्नु भएको छ,’ उनले भने, ‘दुई देशबीचको सम्झौतापत्रको बुँदा नम्बर पाँचमा यो विषय समेटिनु हाम्रा लागि गौरवको कुरा हो । अब सडक निर्माण कार्यको तयारी सुरु हुन्छ ।’

मन्त्री ज्वालाले उक्त सडक नेपालका लागि उच्च महत्वको भएको बताउँदै चीनका लागि पनि प्राथमिकतामा रहेको दाबी गरे । ‘जम्मा ४०३ किलोमिटर सडक छ, कर्णालीका लागि यो लाइफलाईन नै हो,’ मन्त्री ज्वालाले भने, ‘तर चीनका लागि पनि प्राथमिकताको सडक हो सील्क रोडको अवधारणा अत्यन्त महत्वपूर्ण छ । व्यापारिक दृष्टिले तथा पर्यटकीय दृष्टिले पनि उत्तिकै महत्वपूर्ण सडकको रूपमा चीनले लिएको कर्णाली सरकारको विश्वास छ ।’

उनले सुर्खेत जमुनाहा सडक मध्ये कोहलपुर सुर्खेत सडकखण्डका लागि नेपाल सरकारले बजेट नै विनियोजन गरिसकेको बताउँदै उक्त खण्ड निर्माणको चरणमा जान लागेको बताए । अन्य सडक खण्डको हकमा चीन सरकारको सहयोगमा निर्माण तथा स्तरोन्नतीको कार्य अघि बढाउन लविङ सुरु गरिएको उनको भनाई छ ।

‘करिब ५० अर्ब भन्दा बढि लागत लाग्ने देखिन्छ,’ उनले भने, ‘करिब करिब डिपीआर तयार भइसकेको छ ।चीन सरकारले दिने भनेको ५६ अर्बको अनुदानबाटै यो वर्ष काम शुरू गराउन संघीय सरकारसँग कुराकानी गर्ने प्रदेश सरकारको योजना छ । हामी त्यसका लागि कुराकानीलाई तीव्र रुपमा अघि बढाइरहेका छौं ।’

सडक निर्माणका लागि चाइना रेल्वे इन्जिनीयरिङ् कम्पनी तयार भइसकेको उनको भनाइ छ । ‘कम्पनीले आफूलाई जिम्मा दिएको खण्डमा आगामी पाँच वर्षमा नै सडक स्तान्तरण गर्ने भनेको छ,’ उनले भने, ‘सुर्खेत-हिल्सा सडक कुन मोडालिटीमा बनाउन सकिन्छ भन्नेमा हामी छलफलमा नै छौं ।’

चीन सरकारसँग अनुदान वा सस्तो ऋण लिएर बनाउन सकिने उनको भनाई थियो ।

‘हामीले अहिले ४० किलोमिटर मात्रै ट्रयाक खोल्नु बाँकी छ,’ मन्त्री ज्वालाले भने, ‘अन्यत्र सडक बनिसकेको हुँदा दुई लेन बनाए पुग्छ । त्यसका लागि तत्काल काम शुरू गर्न सकिन्छ ।’

चीन सरकारसँग भएको सम्झौता अनुसार हिल्सा सुर्खेत सडकको मात्रै डिपीआर बनेको मन्त्री ज्वालाको भनाई थियो ।

मन्त्री ज्वालाले भुरिगाउँ तेलपानी सडक, भेरी करिडोर,  मुगुको नाग्चेलाग्ना, राप्ती राजमार्ग पनि प्रदेश सरकारको प्राथमिकतामा रहेको मन्त्री ज्वालाको भनाई छ ।

जमुनाह–हिल्सा सडक प्रदेश ५ मा पर्ने बाँकेको जमुनाहदेखि सुरु हुने सडक कर्णाली प्रदेशको राजधानी सुर्खेत हुँदै दैलेख, कालीकोट, सुदूरपश्चिम प्रदेशको बाजुरा भएर चीनसँगको सिमाना हुम्लाको हिल्सासम्म पुग्छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको धुलियाविटलाई आधार बनाएर डिपिआर तयार गरिएको छ । धुलियाविटदेखि हिल्सा नाकासम्मको दूरी ४ सय ३ दशमलव ५२ किलोमिटर हुनेछ । प्रतिवेदनमा धुलियाविटदेखि कपासेसम्म ६ लेनको सडक बनाउन उपयुक्त हुने उल्लेख छ ।

‘बजार क्षेत्र र बस्तीमा चार लेन तथा अन्य ठाउँमा तीन लेनको सडक बनाउन उपयुक्त हुने डिपिआरमा उल्लेख छ,’ मन्त्री ज्वालाले भने, ‘चीन सरकारको प्रस्तावअनुसार सडक बनेमा ६ देखि आठ घण्टामा वीरेन्द्रनगरबाट हिल्सासम्म पुग्न सकिन्छ ।’

प्रतिवेदनअनुसार सुर्खेत खण्ड २४ दशमलव १, दैलेख खण्ड १ सय ४ दशमलव ६, कालीकोट खण्ड ३९ दशमलव १४, सुदूरपश्चिमको बाजुरा खण्ड ४३ दशमलव ४९ र हुम्ला खण्ड १ सय ९२ दशमलव १९ किलोमिटरको हुने छ ।

मुख्यमन्त्री शाहीले प्रधानमन्त्री द्रूतमार्ग व्यापारिक नाका मात्रै नभएर पर्यटकीय मार्ग पनि भएको बताए ।
‘चीनको मानासरोवर जाने सबैभन्दा छोटो स्थलमार्ग पनि यही हो, हामीले व्यापार र पर्यटनसँग यो सडकलाई जोड्छौं,’ मन्त्री ज्वालाले भने, ‘कर्णालीको तीव्र विकास र समृद्धिका लागि आइतबार भएको सम्झौता निकै महत्वपूर्ण छ ।’

Lokantar

तपाइँको प्रतिक्रिया
Array