विश्वकप क्रिकेट : भारत र पाकिस्तानको भिडन्त सुरु

   
त्रिवेणी अनलाइन
१ असार २०७६, आईतवार १२:०५ मा
[Sassy_Social_Share total_shares="ON"]

लन्डन : भारत र पाकिस्तान विश्व राजनीतिमा सधैं चर्चाको शिखरमा रहने गरेका छन्। एक देशले अर्को देशलाई परम शत्रु ठान्ने क्रम रोकिएको छैन। यसअघि इङ्ल्यान्डमा जारी विश्वकपमा भारतले पाकिस्तानसँग नखेल्ने भन्ने समाचार पनि सतहमा आएको थियो। विश्वकपमा भारत र पाकिस्तानलाई सहभागी गराउन आईसीसीले ठूलो समन्वयकारी भूमिका निर्वाह गर्नु परेको थियो। 

अन्तत : यी दुई टोलीबीचको भिडन्त सुनिश्चित भयो। आईसीसी एकदिवसीय क्रिकेटमा यिनै चर्चित दुई प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच आइतबार प्रतिस्पर्धा हुँदै छ। ओल्ड ट्राफोर्ड मैदानमा दिउँसो ३ :१५ बजे सुरु हुने यो खेल हेर्न विश्वभरका क्रिकेट समर्थक प्रतीक्षा गरेर बसेका छन्। जारी विश्वकपमा यी दुईबीचको खेललाई निकै चासोका साथ हेरिएको छ।  पाकिस्तानले टस जितेर पहिला फिल्ड रोजेर भारतलाई ब्याटिङको निम्तो दिएको छ ।

जारी विश्वकपमा भारत चौथो खेल खेल्दै छ। पाकिस्तानले पाँचौं खेल खेल्न लागेको हो। तीन खेल सकेको भारत आफ्नो अपराजित यात्रा कायम राख्ने अभियानमा छ। भारतले आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकालाई ६ विकेटले हराएको थियो। दोस्रो खेलमा भारतले पाँच पटकको विश्वकप च्याम्पियन अस्ट्रेलियालाई ३६ रनले पराजित गरेको थियो। भारत र न्युजिल्यान्डविरुद्धको खेल वर्षाका कारण रद्द भएको थियो। तीन खेलबाट पाँच अंक बनाएको भारत तालिकाको चौथो स्थानमा छ।

यसैगरी पाकिस्तान पनि भारतलाई हराएर आफ्नो बलियो छवि स्थापित गर्न चाहन्छ। तर, पाकिस्तान यसपटक लयमा छैन। कहिले एक सय पाँच रनमै अलआउट हुने त कहिले इङ्ल्यान्डजस्तो बलियो प्रतिद्वन्द्वीलाई हारको स्वाद चखाउने पाकिस्तानको शैली अपत्यारिलो छ। एक सय पाँच रनमै अलआउट भएको पाकिस्तान पहिलो खेलमा वेस्ट इन्डिजसँग सात विकेटले पराजित भएको थियो। दोस्रो खेलमा तीन सय ४८ रन बनाएको पाकिस्तानले घरेलु टोली इङ्ल्यान्डलाई १४ रनले हराएको थियो। पाकिस्तान र श्रीलंकाबीचको खेल भने वर्षाका कारण रद्द भएको थियो।

चौथो खेलमा पाकिस्तान अस्ट्रेलियासँग ४१ रनले पराजित भएको थियो। चार खेलबाट तीन अंक बनाएको पाकिस्तान अहिले आठौं स्थानमा छ। भारत र पाकिस्तान दुवै विश्वकप विजेता टोली हुन्। यी दुवै टोली पहिलो संस्करणदेखि नै विश्वकपमा सहभागी हुँदै आएका छन्। भारतले सन् १९८३ र सन् २०११ मा दुई पटक विश्वकपको उपाधि जितिसकेको छ। भारत सन् २००३ मा पनि फाइनलमा पुगेको थियो। यसैगरी पाकिस्तानले सन् १९९२ मा एकपटक मात्र विश्वकपको उपाधि उचाल्ने अवसर पाएको थियो। वास्तवमै यी दुई टोलीबीचको भिडन्तले विश्वभरका क्रिकेट पारखीलाई गजबको मनोरञ्जन दिने पक्का छ। विश्वकपको उपाधि दाबेदार भारत अहिले निकै लयमा छ। भारतका प्रारम्भिक ब्याट्सम्यान र बलर चुस्त देखिएका छन्। पाकिस्तानको बलियो पक्ष भनेको तीव्र गतिका बलर हो। त्यसैले भारतका लागि तीव्र गतिका पाकिस्तानी बलर घातक बन्न सक्छन्।

यसअघि यी दुई टोलीबीच भएको विश्वकप भिडन्तमा भारत निकै बलियो देखिएको छ। विश्वकपमा यसअघि भारत र पाकिस्तानबीच ६ खेल भएको थियो। भारतले सबै ६ वटै खेलमा जित हात पारेको छ। यसैगरी एकदिवसीय खेलको तथ्याङ्कमा भने पाकिस्तान बलियो देखिएको छ। यी दुई टोलीबीच हालसम्म एक सय ३१ एकदिवसीय खेल भएको छ। पाकिस्तानले ७३ खेल जितेको छ। भारतले ५४ खेल जितेको छ भने चार खेल अनिर्णित बनेको छ। क्रिकेट मैदानमा कहिलेकाहीँ पुरानो तथ्याङ्कले मात्र नतिजा फेरबदल गर्न सक्दैन। भारत र पाकिस्तान मैदानमा इखले पनि खेल्ने गर्छन्।

विश्वकपमा दुई टोली

कुल  : ६ खेल

भारत विजयी  : ६ खेल

पाकिस्तान विजयी  : ० खेल

एकदिवसीयमा दुई टोली

कुल  : १३१ खेल

भारत विजयी  : ५४ खेल

पाकिस्तान विजयी  : ७३ खेल

अनिर्णित  : ४ खेल

तपाइँको प्रतिक्रिया

हाम्रो टीम


प्रबन्धक/सम्पादक
उत्तर कुमार साहु
रिपोर्टर
गणेश चन्द
संगम बिहानी
समिक्षा के.सी.
कुमार साहु
फोटोग्राफर

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu