फिल्मजस्तै जिन्दगी
नायिका सोनु थारू यति बेला आफ्नो होम प्रोडक्सन सोना फिल्मस्को चौथो प्रस्तुति ‘तुँ मिल गैलो’को च्यारिटीमा व्यस्त छिन्। सोनुको ‘तुँ मिल गैलो’ अर्थात् ‘तिमी भेटियौ’ फिल्म उनको अघिल्लो फिल्मको एक दशकपछि मात्रै प्रदर्शनमा आएको हो। यसअघि उनले ‘डगर’ (२००९) ‘यी कैसिन नाता’ (२००८) र ‘दरार’ (२००७) फिल्म वर्ष नबिराई लगालग बनाएकी थिइन्।
सोनु फिल्ममा कसरी प्रवेश गरिन् ? अनि फिल्मी दुनियाँ प्रवेश गरेको एक दशक कहाँ हराइन् ? यो प्रश्नको उत्तर खोतल्दै जाँदा उनको जिन्दगी नै फिल्मजस्तो प्रतीत हुन्छ। उनको जिन्दगीको पाना खोतल्न आग्रह गर्दा उनी लामो सुस्केरा हाल्छिन्। अनुहारको भावभंगी बिग्रिन्छ। स्वर पनि भासिन्छ। उनलाई फिल्मी संवाद बोल्न जति सहज हुन्छ, वास्तविक जिन्दगीको संवाद जोड्न भने साँचिच्कै धौ धौ पर्छ।
बांगोटिंगो ‘डगर’
‘डगर’ अर्थात् बाटो सोनुको तेस्रो फिल्म। बाल्यकालदेखि नै सोनु हिँडेको डगर सरल थिएन। जब उनी आफ्नो गाउँको स्कुल दाङदेउखुरीको सिसहनियामा ५ कक्षा प्रवेश गरिन्, उनको डगर बक्ररेखामा बन्यो। उनका बाबाले घरायसी कारणले ‘सुसाइड’ गरे। आमाले जेनतेन घर सम्हालिन्। अरूको घर जाने जात, किन धेरै पढाउनु भन्ठानेर हो कि आमालाई उनको बिहे गर्न हतार भयो। उनी मात्र १५ वर्ष १० दिनमा टेक्दा आफ्नो गाउँभन्दा करिब २० किलोमिटर पश्चिम दाङदेउखुरीको लंगडी गाउँमा बिहे भयो। भन्छिन्, ‘राम्ररी चिया पकाउन पनि आउँदैनथ्यो, बुहार्तन सहनु पर्यो।’

श्रीमान् बिदेसिएपछि सोनुलाई घर घरजस्तो लाग्न छाड्यो। लोग्नेले पठाएको चिठीभित्र पैसा पो छ कि भनेर सासूससुराले नै पहिले चिठी खोल्न थालेपछि उनलाई त्यो घर अमन भयो। अनि उनी उक्लिन् काठमाडौं खाल्डो। उनको मनसुवा थियो, श्रीमान्सँग फोनमा मनभरि कुरा गर्छु। दुःखसुख कहन्छु। साथीभाइकहाँ एकदुई साता बसेर गाउँ फर्किन्छु। तर उनको जिन्दगीको डगरले अर्को मोड लियो। भन्छिन्, ‘काठमाडौं त पूरै पोखरीको हिले दलदल रहेछ। म यहीँ भासिएँ। गाउँ जानै सकिनँ।’
उनले राजधानीको एक प्रशिक्षण केन्द्रमा नृत्य सिक्न थालिन्, जहाँ नायक प्रेम चौधरी पनि आउने गर्थे। सोनुले बाक्लिएको भेटघाटमा आफ्नो दुःखको पोको खोलिन्। अनि त प्रेमले सोनुको झोलीमा प्रेम भरिदिए। दोस्रो लोग्ने सामुन्ने गाउँमा छोडेर आएको तोते बोली बोल्ने छोरा अमनको मुख हेर्न पनि सायद अमन भयो उनलाई।
जिन्दगीको पाना खोतल्न आग्रह गर्दा उनी लामो सुस्केरा हाल्छिन्। अनुहारको भावभंगी बिग्रिन्छ। स्वर पनि भासिन्छ। उनलाई फिल्मी संवाद बोल्न जति सहज हुन्छ, वास्तविक जिन्दगीको संवाद जोड्न साँचिच्कै धौ धौ पर्छ।
रञ्जित रानाको निर्देशनमा बनेको थारू फिल्म ‘हटाइ कुहिरा’ (२०५८) का नायक प्रेम चौधरी त्यस बेला उत्कर्षमा थिए। उनले सोनुलाई सल्लाह दिन्थे, ‘फिल्मी क्षेत्र राम्रो छैन, तिमी यसमा नलाग।’ त्यसमा सोनुको जवाफ हुन्थ्यो, ‘त्यसो भए तपाई किन यो क्षेत्रमा ? ’
सोनुलाई फिल्मको नशाले छोयो। आफैं लगानी गरिन्। र, दनादन तीन वटा फिल्म बनाइन्। फिल्मले केही रकम पनि जुट्यो। प्रेमको घर कैलालीको घोडाघोडी। पछि छोराछोरीलाई सजिलो हुन्छ घनेर धनगढीमा घर किन्ने सुरसार गरिन्। तर सासूससुराले ‘गाउँतिरै तमाम घडेरी छन्। यहीँ छुट्टै घर बनाए के हुन्छ ? ’ भनेर सल्लाह दिए। ससुराको हातमा पैसा राखेपछि न धनगढीमा घर किनियो, न गाउँमै। न त पैसा फिर्ता भयो। त्यसपछि परिवारसँग उनको दरार (मनमुटाव) सुरु भयो। उनी प्रेमको परिवारमा अटाइनन्। एउटै बाइकमा प्रेमसँग जिल्ला अदालत गइन् र ‘डिभोर्स पेपर’मा साइन गरिन्। उनका फ्यान अवाक् भए।
प्रेम र सोनुको प्रेमको निशानी छोरी थिइन् प्राञ्जली। सोनुले प्रोपर्टीका कारण डिभोर्स भएको भने पनि सायद ‘दरार’को कारण छोरी नै थिइन्। प्रेमले छोरी आफ्नो होइन भन्ने दाबी गरे। सोनुले आफू डीएनए टेस्ट गराउन तयार रहेको खरो जवाफ दिइन्। यसरी प्रेम र सोनुको प्रेमको दियो चार वर्षमै निभ्न पुग्यो।
२०६२ र ६३ को दोस्रो जनआन्दोलनपछि पहिचानको राजनीतिले देश रंगियो। यही क्रममा माओवादीबाट विद्रोह गरेका लक्ष्मण थारूले थरुहट तराई पार्टी नेपाल नामक पार्टी दर्ता गरे। सोनु थारू पनि यसको सदस्य भइन्। पहिलो संविधानसभामा समानुपातिक सांसदको उम्मेदवार भइन्। पार्टीको चुनाव चिह्न ‘ढकिया’ बोकेर गाउँगाउँ घुमिन्। तर सांसद बन्ने सौभाग्य उनकोमा रहेन। उनी अहिले राजनीतिमा छैनन्। सबै कुरा राजनीतिसँगै जेलिएकाले अझै राजनीति गर्ने मन छ उनलाई।
सोनुले ‘तुँ मिल्गैलो’ फिल्म निकै पहिले घोषणा गरेकी थिइन्। तर लगानी जुटाउन हम्मेहम्मे भइरहेको थियो। दाङदेउखुरी लठ्हठवाका युवा राकेश चौधरी लगानीकर्ता भेट्टाएपछि उनले उनैलाई तेस्रो श्रीमान्को वरमाला पहिर्याइदिइन्। ‘तुँ मिल्गैलो’ अर्थात् तिमी भेटियौ भनेझैं श्रीमान्को रूपमा राकेश भेटिए। राकेशबाट पनि उनको अर्की छोरी भइसक्यो।
यसरी डगरमा राकेश भेटिएपछि उनको फिल्मी करिअर पुनः उकालो चढ्ने रफ्तारमा छ। श्रीमान्लाई नै नायक बनाएर उनले ‘मस्टैली’ (नटेर्ने केटी) फिल्म घोषणा गरेकी छन्। यसको ‘रुपनी बठिन्या नही छोरबुँ’ बोलको गीतको छायांकनसमेत भइसकेको छ।
त्यसो त सोनुलाई नेपाली फिल्ममा पनि जम्ने रहर छ। तर निर्माताहरू लगानी गर्न आग्रह गर्छन्। भन्छिन्, ‘म बरु आफ्नै थारू भाषाको फिल्म बनाउँछु। नेपाली फिल्ममा संयुक्त लगानी किन गर्ने ? ’
थारू फिल्म बनाउने निर्माताहरू प्रायः एउटा फिल्म बनाएपछि फेरि दोहोरिएका देखिँदैनन्। तर सोनु एक दशकको ‘कमब्याक’पछि पुनः निर्मात्री भएर फिल्म बनाउने ध्याउन्नमा छिन्। नायिका बन्ने रहर अझै मेटिएको छैन। उनले बनाएका यसअघिका फिल्मका कथा धेरै उपकथा जोडिएर निकै जेलिएका छन्। तर उनको आफ्नै जिन्दगीको वास्तविक कथा अझ बढी जेलिएको छ। फिल्मजस्तो लाग्ने उनको आफ्नै जिन्दगीबारे फिल्म बनाए उत्कृष्ट दरिने थियो कि ?

- Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.1830 (2)
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम







