मौसमपिच्छे रंग बदल्ने ‘स्वर्गको एक टुक्रा’ सल्यानको ‘कुपिण्डे ताल’
सल्यान सदरमुकाम खलङ्गा बजारदेखि २४ कि.मी. पश्चिम गुडेपछि पुगिन्छ– कुपिण्डे दह (ताल) । कर्णाली प्रदेशमा पर्ने यो दह आन्तरिक पर्यटकमाझ यति चर्चित छ कि पछिल्लो समय नगरपालिकाको नाम नै ‘बनगाड कुपिण्डे’ हुन पुग्यो ।
‘कुपिण्डे दहले वर्षमा तीनवटा रङ्ग बदल्ने गर्दछ’– यसो पनि भनिन्छ । कुपिण्डे तालले वर्षमा तीन रङ्ग बदल्ने गर्दछ, वर्षा, हिउँद र गर्मी याममा दहले रङ्ग बदल्ने विश्वास गरिन्छ । रमाइलो चाहिं के भने वरिपरि जङ्गलले घेरिए पनि तालमा पात भने भेटिंदैनन् । यहाँ पात झर्यो कि चराले टिपिहाल्छ भन्नेहरु पनि छन् ।
झण्डै ३५ बिघा (२३.५३ हेक्टर) मा फैलिएको यो तालको नजिकै बराहदेव मन्दिर छ, जहाँ मंसीर शुक्लपूर्णिमा र वैशाख शुक्लपूर्णिमाका दिन ठूलो मेला लाग्दछ । भक्तजनहरु धर्म र सौन्दर्य दुवैको आनन्द लिएर फर्कन्छन् ।
वरिपरि हरियाली वन जंगल छ । जंगलमा घोरल, रतुवा, भुइचे कालिज, परेवा र तलाउमा हाँस, जलेवा पाइन्छ । वर्षेनी कुपिण्डे तालसँगै जोडिएको मन्दिरमा पूजाआजा गर्न टाढा–टाढाबाट भक्तजनहरु समेत पुग्दछन् ।
यो दह कसरी बन्यो ? वैज्ञानिक तथ्य खासै नसुनिए पनि किंवदन्ती भने रोचक छ । कथा अनुसार, दह बन्नुअघि यो ठाउँमा बस्ती थियो । बस्तीमा एक दिन साधु बास माग्न पुगेछन् तर कसैले बास दिन मानेनछन् । अन्त्यमा एक वृद्धाले बास त दिइन् तर उनीसँग साधुलाई दिने खानेकुरा भने केही रहेनछ ।
भोलिपल्ट बिहानै ती साधुले वृद्धालाई भनेछन्, “म साधुको भेषमा आएको कैलुबराह हुँ । अरुलाई बास नदिने यो गाउँका पापीलाई म छिनभरमा डुबाइदिन्छु ।” अहिलेको कुपिण्डे दहतर्फको पहाड देखाउँदै साधुले भनेछन्, “त्यो पहाडमा जाऊ, हिंड्दा बीचमा पछाडि फर्किएर नहेर्नू ।”
साधुको भनेझैं वृद्धा पहाडको टुप्पोमा पुगेर फर्केर हेर्दा गाउँ त दह बनिसकेछ । अहिले यही कुपिण्डे दह पर्यटकीय क्षेत्र बनेको छ । यो डुङ्गाबाट प्राकृतिक वातावरण र एकान्त महसूस गर्न सकिने ठाउँ भएको छ । अहिले यो दहको छेउछाउ विस्तारै माटोले पुरिंदै गएको छ । अतिक्रमण र फोहोर पनि बढ्दो छ । तालको नाम नै आफूसँग जोडेको नगरपालिकाबाट संरक्षणको आश गर्नु पक्कै पनि अन्यथा नहोला ।
झट्ट हेर्दा नेपालको नक्सा आकारको देखिन्छ यो ताल । पानी कहाँबाट आउँछ र कहाँबाट पानी बाहिरिन्छ भन्ने स्पष्ट छैन । यो तालको देखिने मुहान पनि छैन र निकास पनि छैन । तर, वर्षामा तालमा पानीको सतह बढ्दै जान्छ भने हिउँदमा त्यो विस्तारै घट्दै जान्छ ।
यसैपनि पहाडी प्रदेश र चारै तीर डाँडापाखाले ढाकेको सल्यान प्रकृतिले बरदान दिएको ठाँउ हो । प्रदेश नम्बर ६ मा परेको यो जिल्ला पर्यटकीय हिसाबले निक्कै मलिलो छ । जिल्लाको नाम कसरी सल्यान रहन गयो भन्ने ठोस एकिन छैन । बुढापाकाहरूले यस जिल्लाको नामको बारे अनेक प्रसँग जोडेको पाइन्छ । जसमध्ये तत्कालिन राजाले यहाँ राज्य गर्दा सल्ले भन्ने स्थानको व्यक्तिलाई आफ्नो सहयोगीका रूपमा राखेका र उसैको नामबाट सल्ले अपभ्रंश हुँदै गएको हो भन्ने प्रसँग प्रचलित छ ।
तर कतिपयले सल्लै सल्लाका सुन्दर पहाड र थम्काहरूले अत्यधिक मात्रामा ढाकिएकाले यसलाई सल्लाबाट सल्यान हुन गएको हो भन्ने पनि गर्दछन् । भौगोलिक विकटता र भौतिक पूर्वाधारको न्यून विकासले गर्दा सल्यानका अधिकांस मानिसहरुको जीवन अझै कष्टकर छ । परम्परागत कृषि पेशामा आधारित यहाँको आर्थिक प्रणाली सुधार उन्मुख छ भने सामाजिक क्षेत्रमा पनि विस्तारै परिवर्तनहरु देखिदैछन् । यहाँ बाहुन, क्षेत्री, मगर, कामी, दमाई, नेवार समुदायको बहुल्यता छ ।
सल्यान विभिन्न किसिमका जडिबुटीहरु, अदुवा, सुन्तला, कागतीका साथै तरकारीका लागि समेत उर्वर भूमि मानिन्छ । सल्यानको सुन्तला र अदुवा गुणस्तरका हिसाबले देशकै उत्कृष्ट मानिन्छ । यहाँको सुन्तला र अदुवा संकलनका लागि व्यापारीहरु बाहिरी जिल्लाबाट यहाँ आउने गर्दछन् । तर प्राकृतिक, सांस्कृतिक तथा धार्मिक पर्यटनका हिसाबले थुप्रै सम्भावना रहेको सल्यान उचित प्रचार प्रसार र पर्यटकीय सम्पदाहरुको संरक्षण, सम्वर्द्धनको अभावमा ओझेलमा छ ।
- सल्यानको त्रिवेणीमा बजार अनुगमन : २ लाख बराबरको अखाद्य बस्तु नस्ट
- नेपाल निजामति कर्मचारी युनियन त्रिवेणीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
- सल्यानको त्रिवेणीमा टि.भि. हेर्न आएकी पाँच वर्षिया बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ
- त्रिवेणी गाउपालिका वडा नं. ६ द्धारा विपन्न ६० जना बालबालिकालाई शैक्षिक साम्रगी वितरण
- सल्यानमा भतिजाको कुटपिटबाट काकाको मृत्यु
- सुर्तीजन्य पदार्थ तथा मध्यपान सेवन न्युनिकरण सम्बन्धी जनचेतनामुलक कार्यक्रम काभ्रामा सम्पन्न