सल्यानका कृषकले जडीबुटी खेतीबाट करोडौ आम्दानी गर्दै

   
त्रिवेणी अनलाइन
१८ कार्तिक २०७६, सोमबार १६:०१ मा

सल्यान १८, कार्तिक ।
सल्यानका कृषक जडीबुटी खेतीतर्फ आकर्षित हुन थालेका छन् । परम्परागत रुपमा अन्नबाली लगाउँदै आएका कृषक जडीबुटीबाट मनग्य आम्दानी हुने भएपछि अन्नबाली मासेर जडीबुटी खेती गर्न थालेका हुन् । टिमुर, रिठ्ठा, तेजपात लगायतका जडीबुटीका लागि यहाँको हावापानी अनकूल भएकाले यसको खेती प्रति कृषकहरुको आकृर्षण बढ्दै गएको छ ।

प्राकृतिक रुपमा सामुदायिक वनमा पाइने टिमुर कृषकले खेतबारीको डिलमा विस्तार गरी आयआर्जन गर्दै आएका छन् । जडीबुटीबाट पर्याप्त आम्दानी हुने भएपछि कृषक जडिबुटी उत्पादनमा लागेका छन् । जिल्लाको बन्गाडकुपिन्डे नगरपालिका ९ शेराका कृषक पूर्णबहादुर बुढाले ब्यबसायिक टिमुर खेती गर्दै आएका छन् । उहाँले टिमुर खेतीबाट बार्षिक ७ लाख रुपैँया आम्दानी गर्दै आउनुुभएको छ ।


अहिले जिल्लामा जडिबुडि खेती गर्नेहरुको संख्या पनि बढ्दै जान थालेको छ । डिभिजन बन कार्यालय सल्यानले जिल्लामा जडिबुटी उत्पादनको लागी राम्रो सम्भावना भएको जनाएको छ । गत आर्थिक बर्ष २०७५÷०७६ मा करिब २० करोड रुपैँया बराबरको जडिबुटी जिल्ला बाहिर निकासी भएको अनुमान गरिएको छ ।

जिल्लाबाट गत आर्थिक बर्ष २०७५÷०७६ मा जडिबुटी निकासीबाट १६ लाख २२ हजार राजस्व संकलन भएको डिभिजनल बन अधिकृत थीर बहादुर कार्कीले बताउनुभयो । ‘सल्यान जिल्ला जडिबुटीका लागी प्रख्यात जिल्ला हो, यहाँ जडिबुटीको लागी राम्रो सम्भावना छ, जडिबुटी अनुकुलको हावापानी छ’ उहाँले भन्नुभयो—‘जिल्लामा सबै भन्दा धेरै टिमुर उत्पादन हुन्छ, टिमुर खेतीमा कृषकहरुको आकृर्षण पनि धेरै छ ।’
कार्यालयका अनुसार यस अबधिमा टिमुर ९४ हजार ९ सय ५० केजी, रिठ्ठा २ लाख ५० हजार केजी, घोडा तापे २ हजार केजी, तेजपाज २१ हजार २ सय केजी, चोथ्राको बोक्रा २ हजार ७ सय केजी, दाल चिनीको बोक्रा ६ सय केजी जिल्लाबाट निकासी भएको छ ।

यस्तै निजि बनबाट २ लाख ३५ हजार ५ सय केजी टिमुर र २ लाख ११ हजार ६ सय केजी रिठ्ठा जिल्लाबाट निकासी भएको छ । ३९ प्रजातीका रुख, ३० प्रजातीका स्तनधारी जनावर, १ सय ८१ प्रजातीका चराहरु पाईने यस जिल्लामा ६३ प्रजातीका जडिबुटी पाईन्छ भने २२ प्रजातीका जडिबुटी मात्रै संकलन हुने गरेको छ ।

जिल्लामा उत्पादन हुने टिमुरलाई प्रशोधन गरी तेल निकाल्न जिल्लाको श्रीनगरमा करिब १ करोडको लागतमा उद्योग सञ्चालनमा आएको छ । यस्तै कुपिण्डे दहमा टिमुर प्रशोधन तथा प्योकजिङ उद्योग सञ्चालनमा छ भने रैकरमा संकलन केन्द्र स्थापना भएको छ । तर अन्य जडिबुटीको प्रशोधन तथा संकलन केन्द्र नहुदाँ जिल्लामा उत्पादन हुने करोडौँ मूल्यका जडिबुटीहरु सस्तो मूल्यमा जिल्ला बाहिर निर्यात हुदैँ आएको छ ।

तपाइँको प्रतिक्रिया
Array