‘राम्रोसँग बस्नु है भनेर गएको छोरो उतै हरायो

   
त्रिवेणी अनलाइन
१८ पुष २०७६, शुक्रबार १७:१९ मा

भारतको कस्मिरमा मारिएका भारतीय सेनामा कार्यरत गोरखा नगरपालिका-५ का २६ वर्षीय राइफलम्यान अर्जुन थापा मगरको अन्त्येष्टि गरिएको छ।

‘पाकिस्तानी सेना भारतीय भूमिमा छिर्ने प्रयास गरेपछि’ भएको गोलाबारीमा परेर मगरको मंगलबार राति मृत्यु भएको थियो।

घटना सुनेपछि छोराको शव बुझ्न ७० वर्षे बाबु प्रेमबहादुर, अर्जुनकी श्रीमती सरिता थापा मगरसहित आफन्त र केही गाउँले बिहीबार पश्चिम बंगाल पुगेका थिए।

थापाको पश्चिम बंगालको बागडोगरा सैनिक क्याम्पमा शुक्रबार उच्च सैनिक सम्मानसहित अन्त्येष्टि गरिएको छ।

भारतीय सैनिकमा नेपालीको मृत्यु हुँदा अन्तिम संस्कार पनि भारतीय भूमिमा नै गर्ने चलन छ।

कस्मिरबाट भारतीय सेनाको हेलिकप्टरले थापाको शव ल्याएको थियो।

भारतीय सेनाले शवयात्रा र उच्च सैनिक सम्मानसहित सलामी दिएपछि बाबु प्रेमबहादुरले छोरा अर्जुनलाई दागबत्ती दिए।

भारतीय सेनाका ब्रिगेडियर अविश यादवसहित उपस्थित सेनाले अर्जुनको शवलाई भारतीय झण्डा ओढाउँदै श्रद्धाञ्जली दिएका थिए।

अर्जुनको भारतीय भूमिका अन्त्येष्टि गरेपछि आफन्त र छिमेकी झन् पीडामा छन्।

छिमेकीहरू सकेसम्म आफ्नो संस्कारअनुसार अर्जुनको अन्त्येष्टि नेपाली भूमिमा गराउन चाहन्थे।

छिमेकी सुजित थापा मगरले अर्जुनको मुख पनि हेर्न नपाएको बताए।

‘उतै अन्त्येष्टि गरियो,’ थापाले सेतोपाटीसँग भने, ‘सकेसम्म नेपाली भूमिमै अन्त्येष्टि गर्ने हाम्रो इच्छा पूरा भएन।’

भारतीय सेनाले उच्च सम्मानसहित अन्त्येष्टि गर्ने बताएको र परिवारको पनि आर्थिक अवस्था कमजोर रहेकोले शव नेपाल ल्याउन नसकिएको थापाले जानकारी दिए।

‘सकेसम्म शव यहीँ ल्याउने हाम्रो कोशिस थियो। जति खर्च लागे पनि बरू गुठीभाइले पैसा उठाएर भए पनि शव ल्याउने र दरौंदीमै अन्त्येष्टि गर्ने भनेका थियौं,’ उनले भने, ‘शव ल्याउने प्रक्रिया र खर्चले गर्दा त्यो सम्भव भएन।’

अब प्रेमबहादुर र सरिता घर फर्केपछि काजकिरिया सुरू गरिने उनले बताए।

‘अर्जुनका बुवा र श्रीमती नै कोरामा बस्नुहुन्छ,’ उनले भने, ‘१३ दिन नै संस्कार हो।’

अर्जुनको निधनपछि उनको गाउँ गोरखा रिपमा शोक छ।

एक महिना छुट्टी मनाएर काममा फर्केको दुई साता नहुँदै अर्जुनको मृत्युको खबरले गाउँलेहरू पीडामा छन्।

अर्जुनको घर।

थापा पाँच वर्षअघि सेनामा भर्ति भएका थिए। अर्जुनको आमाको निधन भइसकेको छ।

उनले ठूलीआमा नन्दकुमारी थापालाई आमाजत्तिकै मान्थे।

‘आमाले छाडेर गएर होला मलाई आमाजत्तिकै माया गर्थ्यो। राम्रोसँग बस्नुस् है भनेर गएको छोरो उतै हरायो, अन्तिम पटक पनि मुख हेर्न पाइएन्,’ उनले भनिन्।

तपाइँको प्रतिक्रिया
Array